Upakar Bhandari
  • Home
  • About
  • Agriculture
  • History
  • Tourism
  • Entertainment
  • More

Saturday, November 5, 2022

न्वाइ खाने पर्व

 Upakar Bhandari     9:06 AM     No comments   

 विभिन्न जातिय  बर्ग समुदायका सनातनी नेपालीलेले आ आफ्नै मौलिक पहिचान अनुसार तिनसय पैसठ्ठी दिनभित्रका विभिन्न तिथिमितिमा विशेष दिनका रुपमा वार्षिक चाड पर्वकारुपमा मनाउदैँ आ-आफ्नो जातिय बर्ग समुदायको मौलिक पहिचान मात्र हैन देशकै विशेष पहिचान देखाउँदै अएका चाड पर्वहरु मध्य एक पर्व न्वाई  चाड पर्व पनि एक हो । ठाउँ र जातिय बर्ग समुदाय र भाषा अनुसार यस न्वाइ चाडलाई नुवागी, न्वागी र छौवा तथा पान्देई घ्यासा, साकेला, भुमे, चासोक, तङनाम जस्ता नाम दिएर पनि मनाउँदै आएको देखिन्छन् । खेतबारीबाट भर्खरै घरमाभित्र्यायको नवान्न ( नयाँ अन्न) धानको चामलमा दही, केरा लागायत मिश्रणगरि देवता तथा पितृहरुलाई चढाई आफुले प्राशन गर्ने ( खाने ) मिस्थान भोज नै न्वाइ हुन् । न्वाइ शब्द नवान्न बाट आएको शब्द हुन् ।

       खासगरी कृषकहरुले मनाउने परम्परा रहेको यो पर्व कृषकरुको मुख्य खाद्यान्न  अन्नबाली पाकेपछी घर भित्र्याउनु अघि अन्नबाली भूमिबाट पाकेको र आउने सालमा पनि यसरी नै फलाएर हाम्रो भोक टरोस भनि घर भित्र्याउने र आफ ूले खानुअघि अन्न दिने भूमि र देवताहरुलाई पुजा तथा हवन गरि विशेष प्रकारको चोखो भोजन  चढाउनु नै यस चाडको मूल उदेस्य हो । नेपाली जातिका धानहरु मध्यका छ मासको चन्द्रको छायाँ परेको जडन जातिको धानबाली पाकेपछी ढिकीमा कुटेर बनाएको जडन धानको चामल दहीमा भिजाई, केरा सिलाम, चिनी, तिल , नरिवल, दाख उत्यादि किसमिस आदि मिष्ठान्न सामाग्रीको समिश्रणबाट तयार पारिएको स्वादिष्ट न्वाइ शुभसाईतमा सर्वप्रथम देवीदेवता तथा पितृहरुलाई चढाएरमात्र आफुहरुले सगुनकोरुपमा प्राशन गरि प्रयोग गर्ने प्रचलन र परम्परा रहेको देखिन्छ । यो पर्व कहिले मनाउने भन्ने विषयमा पञ्चाङ्गमा कहिं कतै केहि उल्लेखित गरिएको नदेखियता पनि  खास गरेर कार्तिक शुल्क हरीबोधनी एकादशी (कछलाथ्वयाको एकादशी) पछिको द्वादशिका दिन देखि कार्तिक कृष्ण पक्षिय पञ्चमी सम्म साईतै नहेरिकन नै शुभसाईत मान्ने त्यसपछी मङ्गसिर महिना सम्म अग्नि जुडायर मात्र हवण आदि गरि मनाउने परम्परा रहेको यहाँ देखिए तापनि मङ्गसिर महिना भरी नै शुभ साईतका रुपमा पनि मा यो पर्व मनाउँदै आएको यहाँ देख्न पाईन्छ ।
       गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने सुन्दर बस्ती ताकुकोट कोटथोकमा अवस्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा हरेक वर्ष धुमधामका साथ न्वाइ(न्वागी) पर्व मनाउने गरिन्छ सो न्वागी पर्वमा  भगवती मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । न्वागी पर्वमा अघिल्लो दिन निराहार बसी रातभर मन्दिरमा पूजा अर्चना तथा बत्ति बाल्ने गरिन्छ भने भोलि पल्ट बिहान शुभ साइत हेरेर न्वागी प्राशन याने खाने काम गरिन्छ । प्रत्येक वर्ष कात्तिक महिनाको १५ गते भन्दा पछि उपयुक्त दिन हेरी  भगवती मन्दिरका पुरोहितले कात्तिके पुजा गर्ने गर्दछन् र सोहि पुजाको दिनमा मुट्ठी लिने तथा न्वागी खाने साईत जुराउने गरिन्छ । मुट्ठी लिने भन्नाले किसानले खेतमा फलाएको धान बालिको एक गाँज पुजा गरी उक्त धानको गाँज बाला सहित काटी घरमा ल्याउने चलन हो । यसरी विधिवत रुपमा मुट्ठी लिएपछि मात्रै खेतको धानबाली  काट्ने गरिन्छ । यसरी काटिएको नयाँ धान ढिकिमा कुटेर सो धानको चामलमा दहि, केरा, तिल, नरिवल आदि मिसाइ मिस्थान बनाई देवीलाई चढाई प्रशाद खाने गरिन्छ । यसरी खाइने दहि चामललाई न्वाई वा न्वागी खाने’ भन्ने चलन छ । दहि चामल खाने दिन दिउसो मन्दिरमा बोकाको बलि सहित विशेष पुजा एवं होम गर्ने तथा ठुलो मेला लाग्ने गर्दछ । यो पर्व गोरखाला लगायत बागलुङ, गुल्मी, प्यूठान, , लगायत देशका बिभिन्न भागहरुमा पनि भव्यताका साथ मनाईने गरिन्छ । यस पर्वमा आफनो जग्गा नहुनेहरुले पनि जडन चामलको न्वाइ खाएर न्वाइ पर्व मनाउने गर्छन । यस अवसारमा आफना छरछिमेकी नातागोता र ईष्टमित्रहरुलाई निम्ता गरेर न्वाइ खुवाएर भोजभतेर गर्ने चलन रहेको छ ।
     बागलुङ्का पाँदेलीहरु यो न्वाइ पर्वलाई आफ्नो जातिय पहिचान कै रुपमा बर्षे्नि   कृषिमेला समेत गरि भव्यताका साथ महोत्सवकोरुपमा मनाउने गरिन्छ ।
      प्रकृति पूजक आदिवासी  किरात समुदाय भित्रको राई र लिम्बु समुदायले साकेला, भुमे, चासोक, तङनाम जस्ता नाम दिएर यो पर्वलाई मनाउदै आएका छन् । उनीहरुले नया बाली भित्रयाउने तथा आफ्नो ----कुलपित्रलाई----- पुजा गर्ने  छन् । उनीहरुले मंसिरे पूणिर्माको यही समयलाई उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएका छन् । लिम्बु संस्कृति अनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजा अर्चना गरेपछि चासोक तङनाम सुरु भएको मानिन्छ । नेपाली भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चार्डपर्व हुन्छ । चासोक तङनामलाई लिम्बुजातिको पौराणिक मुन्धुममा आधारित मुख्य चाड मानिन्छ ।
  उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरि खान पुगोस् भन्ने कामना गर्दै आपसमा खुसी साटासाट गरेर  हरेक वर्षको भदौ २२ गते देशभरका चेपाङ समुदायले छोनाम अर्थात न्वागी पर्व मनाउँदै आप्फ्नो जातिय पहिचान दिन्दै आएकाछन । चेपाङ समुदायले पान्देई घ्यासा भन्ने यो पर्वमा मुख्य गरि नयाँ बाली देउतालाई चढाएर खुसी मनाउने चलन रहेको छ ।


     नेवा: समुदायले भने मार्गशीर्ष शुक्ल पूणिर्माका दिन नयाँ धान कुटेर बनाएको चामलको पिठो बाट बनाएको विशेष आकारमा  चाकु र तिल मिश्रण राखेर विशेष प्रकारको रोति य:मह्री बनाएर देवी देवतालाई चढाएर योमह्री पुन्हिः अर्थात् योमह्री पूणिर्मा पर्व मनाइँदै नेवा: समुदायको आफ्नो विशेष मौलिक पहिचान दिन्दै आएका छन् । अन्य समुदायले मनाउने न्वाई चाड र नेवा:समुदायले मनाउने य:मह्री चाड पर्व मनाउनुको मूल उद्देस्य एउटै देखिएता पनि यसको मौलिक्ता भने आ-आफ्नै जातिय पहिचान अनुसार फरक रहेको देखिन्छन् । नयाँ धान आएपछी त्यसको चामलको पिठोको विशेष आकार भित्र चाकु र तिलको मिश्रण बनाई राखिएर बनाईएको य:मह्री धान भकारिमा धनका राजा कुबेर र धनका देवी लक्ष्मिलाई चढाई पुजा गरि मनाउँदै आएको यो:मह्री नख: ( चाड) हाल मङ्गसिर पूर्णेमा( थिल्लामा) मनाउँदै आएको भएता पनि आज भन्दा चार सय वर्ष अगादी सम्म भने पुस महिनाको पूर्णे( मिल्लापून्हिं)मा मनाउने गर्द्थ्य पछि हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणनाका कारण  प्रत्यक तीन तीन वर्षमा आउने मलमासका कारणले सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको यथार्थतालाई चारसय वर्ष अघिका नेवा: बिज्ञहरुले महसुस गर्दै य:मह्री चाडलाई एक महिना आगादी याने मङ्गसिरको पूर्णेमा सारी पर्व सुधार गरि मनाउँदै आएको भन्ने यहाँ जनस्रुती रहेको पाइन्छन् त्यसैले य:मह्री पुन्हिंका दिन देखि दिन लामो हुने भन्ने नेवा: समुदायमा कथन रहेको पाईन्छ जबकी प्रचलित पञ्चाङ्ग अनुसार पुषको ७ गतेतिर मात्र दिन लामो हुने गर्छन् ।
     यसरी सनातनी नेपालीहरुले आ-आफ्नो जातिय समुदायको परम्परा र संस्कार अनुसार  आ–आफ्नै संस्कार संस्कृति अन्र्तगत रहेर यो पर्वलाई मनाउने गरेका छन् विभिन्न नाम बाट यो पर्व मनाउनुको मूख्य कारण कृषकरुको मुख्य खाद्यान्न  अन्नबाली पाकेपछी अन्नबाली भूमिबाट पाकेको र आउने सालमा पनि यसरी नै फलाएर हाम्रो भोक टरोस भनि घर भित्र्याउने र आफ ूले खानुअघि अन्न दिने भूमि र देवताहरुलाई पुजा तथा हवन गरि विशेष प्रकारको चोखो भोजन  चढाउनु नै यस न्वाई( न्वागी) चाडको मूल उदेस्य हो ।
श्रोत : शिलापत्र
Read More
  • Share This:  

Saturday, January 15, 2022

माघे (मकर) संक्रान्तिको शुभकामना

 Upakar Bhandari     2:08 AM     Agriculture, Entertainment, Health, History, More, Nepal, Religion, Tourism     No comments   

 २ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मशान्त र १२ वटै संक्रान्तिहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन् । वैशाखे संक्रान्तिबाट शुरु भएका वर्षका दिनहरु क्रमशः विभिन्न मसान्त र संक्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ । 


आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ । सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुवका वारेमा हामीले भुगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ, आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।

अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ?

तरुल, सख्खरखण्ड, पिडालु उसिन्न बाँकी नै छ कि भ्याईयो ? अनि खिचडी (जाउलो) नि ? जाउलोसंग सम्बन्धित एउटा उखान तराईतिर ज्यादै प्रचलीत छ, "खिचडीके चार यार, दही पापड घी अा अचार" । मैथिली भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरु हुन्छन्, दही, पापड घ्यू अनि अचार । अनि तैयार छन् त यि कुराहरु कि अन्य कुराहरुसँग खिचडी तातोतातो खाने सोचमा हुनुहुन्छ ?

जाडोको समयको यो न्यानो चाड माघे संक्रान्तिले दैलोमा ढकढक्यायो । विहान सबेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगार्इ, व्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त अाजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।

आउनुहोस यस दिनको धार्मीक र पौराणीक मान्यताका बारेमा चर्चा गरौ, महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्युको वरदान थियो, रणभुमीमा अर्जुनका धनुष वाणहरुले शरिरमा सर्वत्र छेडेका भिष्म पितामहले आजकै दिन मृत्युको ईच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।

मधेशमा भने मैथिल र थारुसमुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् । थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ । आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ । अानन्दि नामक चामलको जाँड पश्चिमी थारु समुदायमा वहुत चर्चित छ । यसैगरि छोरीचेलीहरु माईत आउने र फर्कदाखेरि 'निसराउ' अर्थात उपहारहरु दिएर पठाउने चलन छ । 

नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाण्डौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरु चैं साँझमा जम्मा भई घरघरमा गई ुबासी आन्द्रा पाई कि नपाईु भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरु रमाउँदै अर्को घर जान्छन् ।
साभार: हाम्रो पात्रो


Read More
  • Share This:  
Newer Posts Older Posts Home

Popular Posts

  • मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन
    परिचय अमेरिकन फौजीकीरा  ( American Fall Armyworm-FAW, Spodoptera frugiperda ) मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर कीरा हो । यो कीरा...
  • रैथाने केराका कुरा
      केराका कुरा सत्यवती गाउँपालिका वडा नं-६ चेंगाका कृषक हरिलाल ढकालले लगाउनु भएका विभिन्न रैथाने केराका जात अनि तिनका गुणका कुरा l १. डीग्नी...

Like on Facebook

Agriculture Nepal

Categories

  • Agriculture
  • Entertainment
  • Health
  • History
  • More
  • Nepal
  • Religion
  • Tourism

Blog Archive

  • ►  2023 (1)
    • ►  March (1)
  • ▼  2022 (2)
    • ▼  November (1)
      • न्वाइ खाने पर्व
    • ►  January (1)
      • माघे (मकर) संक्रान्तिको शुभकामना
  • ►  2020 (4)
    • ►  May (1)
    • ►  April (2)
    • ►  January (1)
  • ►  2019 (9)
    • ►  December (1)
    • ►  November (2)
    • ►  September (1)
    • ►  August (1)
    • ►  July (1)
    • ►  April (1)
    • ►  March (1)
    • ►  January (1)
  • ►  2018 (20)
    • ►  December (1)
    • ►  November (5)
    • ►  October (1)
    • ►  August (1)
    • ►  July (2)
    • ►  June (9)
    • ►  March (1)
  • ►  2016 (1)
    • ►  December (1)
  • ►  2015 (1)
    • ►  September (1)

Top 4 Posts

  • पोखरा महानगरपालिकाको पुम्दी भुम्दिमा गरिएको काक्रो खेति तरिका
  • सुन्दर जीवन
  • मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन
  • घट्दैछ हाम्रो परम्परागत कृषि खाद्यान्नको प्रयोग

About me

I am agriculture student at AFU, Rampur. I want myself to involve in eco friendly behaviour for the sustainability in the environment. See more

Total Visits

Copyright © Upakar Bhandari | Site by Jwala